दफा १६४
यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसुर पहिलो पटक गर्नेलाई पाँच सय रुपैयाँ, दोस्रो पटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सो भन्दा बढी पटक गर्नेलाई एक हजार पाँच सय रुपैयाँको जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल गर्न सक्नेछः–
(क) ट्राफिक सङ्केत वा ईशारा उल्लङ्घन गरी सवारी चलाएको ।
(ख) सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको ।
(ग) सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी सङ्केत दिएको ।
(घ) सडकमा गलत साइड तर्फबाट सवारी चलाएको ।
(ङ) एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको ।
(च) अवस्था ठीक नभएको सवारी चलाएको ।
(छ) निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
(ज) राती बत्ती नबाली सवारी चलाएको ।
(झ) मादक पदार्थ सेवन गरी सवारी चलाएको ।
(ञ) अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी राखेको ।
(ट) सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
(ठ) नम्बर प्लेट नराखी सवारी चलाएको ।
(ड) सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा निर्धारित वजनभन्दा बढी वजनको सवारी चलाएको ।
(ढ) पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको ।
(ण) सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
(त) सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।
(थ) निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएको ।
(द) लापरवाही साथ सवारी चलाएको ।
(ध) बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएको ।
(न) चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएको ।
(२) उपदफा (१) बमोजिम यातायात निरीक्षक वा प्रहरीले गरेको जरिवानाको रकम तत्काल बुझाउन नसक्नेलाई चौबीस घण्टाभित्र त्यस्तो रकम सम्बन्धित प्रहरी कार्यालय वा अधिकार प्राप्त अधिकारी समक्ष बुझाउन पुर्जी दिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले उपदफा (१) मा उल्लेखित कसुर गर्दाको बखत निजलाई सजाय गर्न तत्काल घटनास्थलमा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृत नभएमा पनि घटनास्थलमा रहेको कुनै पनि प्रहरी जवानले त्यस्तो कसुर गर्नेलाई निजले गरेको कसुर खुलाई सो बापत निजलाई हुने जरिवानाको रकम चौबीस घण्टाभित्र सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन पुर्जी दिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिमको पुर्जी दिंदा त्यस्तो पुर्जीको नक्कल प्रतिमा सो पुर्जी बुझ्नेको सही समेत गराउनु पर्छ ।
(५) उपदफा (२) वा (३) मा लेखिएको समयसम्म पनि अधिकार प्राप्त अधिकारी वा सम्बन्धित प्रहरी कार्यालय समक्ष त्यस्तो जरिवानाको रकम नबुझाउनेलाई अधिकार प्राप्त अधिकारीले एकहजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो व्यक्ति चालक भए चालक अनुमतिपत्र, सवारी धनी वा व्यवस्थापक भए सवारीको बाटो इजाजतपत्र वा निजहरूले यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र बढीमा एक महीनासम्मको लागि निलम्बन गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम निलम्बन गरिएको अवधिसम्म पनि जरिवाना नुबझाएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालक अनुमतिपत्र, बाटो इजाजतपत्र वा यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र खारेज गर्न सक्नेछ ।